ऐंठन

August 29, 2026

छ अन्धकार रातको जताततै छ निष्पट

बिथोल्न प्रश्न आउँछन् म छैन आज चित्तमा ।


अनेक सम्झना सँगै, अनेक भावना सँगै

म एक्लिएँ! म खेदिएँ ! म भित्रको प्रकाश खै ?


म कुद्न सक्तथेँ जति, हतारिदैँ कुदेँ त्यति

थकाइले म रोकिएँ, लडेछ आज जिन्दगी ।


बतास झैँ सवाल छन् जवाफ छैन साथमा

जवावको तलाशमा, असह्य बन्छ ऐँठन ।


कता डुबेछु रातमा, छ - छैन चेतना म मा

छ भूमरी वरीपरी, रुमल्लिएँ हतासमा ।


यि सास छाति भित्र नै निसासिएछ गाँठ भै

र, पोखिएछ आँसुको समुन्द्र थाह नै नभै ।


यि हात काप्दछन् जसै म पुछ्न खोज्छु आँसु यी

र चिप्लिई शनै: शनै: भिजाउँछन् सिरानि यी ।


हतारिदै हतासिँदै भुलाउँछु सधैं जसै

धकेल्छु यी पीडा जति पछाडि गीदि मा कतै ।


बितेर जान्छ नै अवश्य काल यो भनी बरु

प्रयत्न गर्छु पर्खन प्रकाश ती प्रभात को ।

cite / share